News Griha :: न्यूजगृह
गणतन्त्रको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्छ : कांग्रेस सभापति देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनाहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेको बताएका छन् ।

सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर शहीदप्रति दिवसका अवसरमा उनहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै उच्च सम्मान साथ श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात् कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् ।

गणतन्त्र कार्यान्वयनका लागि २०६५ साल १५ जेठमा संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई गौरवका साथ स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।

सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय  लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रुपमा रुपान्तरण गर्न सकिने बताएका छन् ।

मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०७:४९
Weather Update