
काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर शहीदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन् ।
उनले सन्देशमा भने,‘ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षहरूमा सहभागी भई घाइते र अङ्गभङ्ग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु । साथै, यी आन्दोलन र सङ्घर्षहरूको अगुवाइ गर्ने अग्रज नेताहरू, जनसमुदाय, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु ।’
उनले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताएका छन् ।
यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झैंदेख्न सकिरहेको सन्देशमा उल्लेख छ ।
उनले यसलाई थप परिष्कृत, सु–संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराए ।