News Griha :: न्यूजगृह
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई विज्ञहरूले कस्ता बुझाव दिए ? 

काठमाडौं— छिमेकी मुलुक भारत भ्रमणमा बुधबार जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेता तथा कुटनीतिज्ञहरूले विभिन्न सुझाव दिएका छन् । नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा नेपाल र भारतबीच ऊर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिएका छन् ।

आइतबार उनले भारतले नेपालसँग ऊर्जासँग सम्बन्धित सम्झौताहरू गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै यसबारेमा राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने जोड दिएका हुन् ।

‘अहिले आर्थिक रुपमा मुलुक जुन संकट भोगिरहेको छ, यो संकटले हामीमाथि पारिरहेको आम प्रभाव र प्रभावबाट हाम्रो दुई तिहाई झन्डै व्यापार हुने मुलुक सबैभन्दा ठूलो लगानीकर्ता मुलुक, त्यो मुलुकसँगको हाम्रो एजेन्डाहरु स्वभाविक रुपमा प्रधानमन्त्रीस्तरको लेभलमा भिजिट हुँदा ध्यानाकर्षण गराउनुपर्छ । हामीले अहिले भोगेका तत्कालीक समस्याका बारेमा पनि पहल गर्नुपर्छ,’ उनले भने ।

भारतका लागि पूर्वराजदूत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भइरहेको बताए । उनले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरू पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक रहेको बताए ।

बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने बताए । उनले भने,‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भएको देखिन्छ । त्यसबाट हट्न आवश्यक छ । प्रधानमन्त्री नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, समस्त नेपालको हीतको निमित्त जाँदै हुनुहुन्छ । परराष्ट्र मामिलामा नेपाली नेताहरु पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक छ । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै बढी फलदायी हुन्छ, नेपाल एउटा माग्ने देश जसरी लिस्ट लिएर जाने होइन, साना ठूला लिस्टहरु बोकेर जाने काम प्रधानमन्त्रीको होइन ।’

राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्रै भएको बताए । उनले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताए । उनले अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका काम बाहेकका अन्य नयाँ योजनाहरुको बारेमा थप छलफल गर्न आवश्यक रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्रीले के गर्नुपर्छ ? भारत भ्रमणमा, भन्ने भन्दा पनि प्रधानमन्त्रीले अहिले गएर मोदीजीसँग भेटेर अब नेपाल र भारतको सम्बन्धको सन्दर्भमा भइसकेका काम बाहेकका अरु काम गर्ने वातावरण बनाउनुपर्छ । त्यहाँ कुनै एजेन्डा प्रस्तुत गर्ने होइन । कतिपय विषयहरु दुई देशबीचमा वर्षौं लगाएर गर्नुपर्ने विषय छन्, प्रधानमन्त्री जाँदैमा एकाएक छलफल हुन्छ भन्ने होइन । त्यो सहमति नेपालको लागि फलदायी हुनसक्छ ? यी कुरामा हामी कहिल्यै चर्चा गरेका छैनौँ । यो सद्भावना भ्रमण हो,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:१९
Weather Update