News Griha :: न्यूजगृह
नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई एमालेको आग्रह

काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानुन र लोकतन्त्रको पनि भावना विपरित रहेकाले त्यसप्रति आफूहरूको आपत्ति रहेको उनले बताए ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा सांसद पन्तले सो विधेयक तत्काल संसद्मा ल्याएर पारित गराउनुपर्ने उल्लेख गरे । उनले संविधान विपरित हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसद्मा नआई प्रमाणीकरण नगर्न आग्रह गरे । 

पन्तले भने, 'प्रधानमन्त्रीले हिजो बोलेका दुई वटा कुरा अत्यन्त आपत्तिजनक छन । एउटा कुरा उहाँले नागरिकता विधेयकको बारेमा कुरा गर्नु भयो । नेपाली जनताले नागरिकता अत्यन्त छिटो नागरिकता पाउनु पर्छ । र, कतिपय नागरिकता विभिन्न कारणले नपाएर बसेका जुन मानिसहरू छन । उनीहरूलाई समस्या पनि छ । र, त्यो नागरिकता सम्बन्धी कानुन छिटो भन्दा छिटो पारित होस भन्ने हाम्रो पनि चाहना छ । त्यो विधेयक छिटो पारित होस भन्ने हाम्रो पनि इच्छा छ । तर कुनै पनि कुरालाई छिटो गर्ने नाममा असंवैधानिक काम गर्नु हुँदैन ।’ 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:३६
Weather Update