काठमाडौं— नेकपा एमाले सांसद डा. विमला राई पौडेलले संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने व्यवस्था गर्न सुझाव गरेकी छन् ।
आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन् ।
उनले लैङ्गिक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धी कानुन संरचना, निर्माण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा छुट्टै संयुक्त समिति रहनु पर्ने भन्दै यसको व्यवस्थाको लागि सुझाव गरेकी हुन् ।
उनले भनिन्, ‘संविधानको भावना अनुरूप राज्यका सबै निकाय र तहमा लैङ्गिक समानता सुनिश्चित गर्ने तथा लैङ्गिक विभेद र हिंसा अन्त्य गर्ने सम्बन्धी कानुन संरचना निर्माण र कार्यान्वयनको अनुगमन गर्ने सम्बन्धमा आवश्यक निर्देशन गर्न, विशेष छलफल गरी समान धारणा बनाउन र सम्बन्धित निकायका काम कारवाहीलाई संयुक्त रुपमा अनुगमन गर्न गराउन एक छुट्टै संयुक्त समिति लैङ्गिक समानता सम्बन्धमा निर्देशन तथा अनुगमन समिति रहने छ भनेर यस्तो खालको व्यवस्था गरौँ भनेर मेरो संशोधनको लागि सुझाव हो ।’