उपनिर्वाचन : दल दर्ता आजदेखि

काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दर्ता आजबाट सुरु गर्दैछ । वैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनका लागि चैत्र ८ देखि १२ गतेको समयसीमा तोकेर दर्ताका लागि आह्वान गरिएको हो ।
चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो ।
तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत्र ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त हुन पुगेको थियो । तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ ०६:५३













