
काठमाडौं— नेकपा एमाले सांसद शान्ति चौधरीले कृषि अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएपनि यसलाई नीति तथा कार्यक्रममा महत्वका साथ नराखिएको बताएकी छन् ।
शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि क्षेत्रको विकास विना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै यसको विकासका लागि १० वर्ष कृषि क्रान्ति आवश्यक भएको बताइन् ।
चौधरीले भनिन्, कृषि प्रधान देश नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्ड कृषि क्षेत्र हुँदाहुँदै पनि नीति तथा कार्यक्रममा महत्व दिएको छैन् । कृषि क्षेत्रको विकास नगरी हाम्रो देशको अर्थतन्त्र बलियो हुन सक्दैन । नेपालमा कृषि क्रान्तिको आवश्यकता अब सरकारको कृषि क्रान्ति घोषणा गर्नुपर्छ । १० वर्ष कृषि क्रान्ति गर्नुपर्छ यो नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ । ’
उनले देशमा ६५ प्रतिशत नागरिक कृषि क्षेत्रमा आधारित भएपनि खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सरकारले समयमा उन्नत विउ, मल र प्रविधि दिन नसक्दा यस्तो अवस्था आएको बताइन् ।