News Griha :: न्यूजगृह
सात सालदेखिका भ्रष्टाचारका फाइल खोलौँ : महामन्त्री शर्मा 

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखिका भ्रष्टाचारका फाइल खोलिनुपर्ने बताएका छन् । 

शनिबार संसद्मा नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै उनले अब कुनै पनि पार्टीलाई नाफा र घाटाको लेखाजोखा गरेर नभइ जिम्मेवार भएर ७ सालदेखिका भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए । 

उनले भने ‘अख्तियार अनुसन्धान दुरुपयोग आयोगको ऐन बनाउँदै गर्दा नेपाली कांग्रेसको एकल सरकार यो देशमा थियो, भ्रष्टाचार ऐन ल्याउने बेला पनि कांग्रेसको सरकार थियो । अब आएर फाइल खोलौँ अमुक फाइल खोल्यो भने अर्को पार्टीको नेतालाई तान्न सक्छ भन्ने सोचेर होइन । जिम्मेवार ढंगले ७ साल देखिको फाइलहरू खोलौँ ।’

उनले को दोषी को निर्दोष भनेर सदनबाट फैसला गर्ने कुरा घातक भएको भन्दै आपत्ति जनाए । ‘पूर्वप्रधानमन्त्रीले अस्ति यहाँ राखेको भ्रष्टाचारको कुरामा बोल्दै गर्दा को दोषी हो वा होइन त्यसमा छानबिन हुँदैछ, हामी न्यायाधीश होइन फैसला सुनाउनको लागि । कोही दोषी हुनुहुन्न, निर्दोष हुनुहुन्छ । र, उहाँलाई फसाउन खोजिएको छ भन्ने यहाँबाट राखिने कुरामा म विमति प्रकट गर्न चाहन्छु, उनले भने, ‘ यो समय सरकारलाई साथ दिने समय हो, सरकारले भ्रष्टाचारको फाइल खोल्दा त्यसको साथमा बस्ने हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन ।’

नेपाली कांग्रेसका नेता पनि विगतमा भ्रष्टाचारको केसमा जेल परेका छन् । तर, न्यायिक प्रक्रियालाई प्रभाव पर्ने गरी कसैले बोल्नु नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:०४
Weather Update