
काठमाडौं— नेपाली कांग्रेसका सांसद एवं महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको बेलामा रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु नहुने बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।
उनले दोषीलाई उम्क्याउन खोजिँदैछ भन्दै गरेको कुरामा आफूले समर्थन गर्न सकेपनि निर्दोषलाई फसाइँदैछ भन्ने अभिव्यक्तिले अनुसन्धान प्रभावित बन्नसक्ने बताए ।
कांग्रेसका नेताहरू यसअघि पनि भ्रष्टाचारको मुद्दामा जेल परेको र अहिले पनि मुद्दाको सामना गरिहेको भन्दै कांग्रेस दोषीलाई बचाउने प्रयासमा नरहेको जिकिर गरे । उनले मुद्दामा परेका कसैलाई पनि कांग्रेसले रोस्टममा उभिएर निर्दोष नभनेको दाबी गरे ।