News Griha :: न्यूजगृह
देशको स्वाभिमान रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आयो : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले कसैको अगाडि लम्पसार परेर बाँच्नु आम नेपालीको अपमान भएको बताएका छन् । 

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वराजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए । 

उनले भने ‘हामीलाई हाम्रो आफ्नै धर्म, कर्म, रीतिथिति, संस्कृति र परम्परा प्रिय लाग्छ । आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र मौलिक सभ्यता हाम्रो स्वाभिमान हो, त्यसैले कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो । हामी जहाँजहाँ पुग्छौँ त्यहाँत्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छौं ।’

पूर्वराजा शाहले नेपालको पिरमर्का बुझ्न नेपाली मुटुले मात्र सक्ने उल्लेख गर्दै के कस्तो विधिव्यवस्था अंगाल्ने र नेपालीको गौरव गरिमालाई पुनः ताजा बनाउने भन्ने बारेमा सोच्नैपर्ने बेला आएको बताए । 

पूर्वराजा शाहले भने, ‘अब हामी भन्दछौँ मिलौँ, हामी सबै मिलौँ, त्यसैले हामी भन्दछौँ जुटौँ, हामी सबै एक भएर जुटौँ, त्यसैले हामी भन्दछौँ हामी नफुटौँ र परस्परमा सहकार्य गरेर विकासका निम्ति डटौँ । त्यसैले फेरि पनि भन्छौँ जुटौँ, खटौँ र डटौँ, स्वधर्मबाट हटेर होइन त्यसमै एकजुट भएर राष्ट्रका निम्ति एक साथ अघि बढौँ ।’ 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:३४
Weather Update