News Griha :: न्यूजगृह
नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं— पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रूपले टुंगोमा लैजानबाट वञ्चित गरियो भने नेपाली जनताले सहन गर्नेवाला छैनन् । आन्दोलनको सम्भावना छ । यो आजको सरकार र प्रहरीले सुनोस् ।’

नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको उनको भनाइ छ । 

पूर्वप्रधानमन्त्री खनालले गणतन्त्र आएको १५ वर्षका उपलब्धिहरूको समीक्षा हुन जरुरी रहेको बताए । उनले उपलब्धिको समीक्षा गरेर अघि नबढ्ने हो भने देशमा अराजकता आउने पनि बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले घण्टी अराजकताको संकेत भएको बताए । उनले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरूले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गरे । 

‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ,’ उनले भने, ‘कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरू हुन् । देशमा आउँदै गरेको अराजकताका ।’

पूर्वप्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए । पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उनले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए । पूर्वराजा राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसद्मा आए लोकतन्त्रको राम्रो पक्ष हुने उनको भनाइ छ । ‘राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन,’ उनले भने । 

खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताए । उनले देशको सामाजिक संरचनामाथि कुनैपनि व्यवधानका कार्यहरू हुनेगरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताए । अर्को प्रसंगमा उनले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:१८
Weather Update