News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हरिहर अधिकारी भन्छन्– ज्योतिषशास्त्र हिन्दु धर्मको मात्र पेवा होइन

काठमाडौं— हरिहर अधिकारी आफैलाई ‘रुल ब्रेकर’को रूपमा चिनाउन रुचाउँछन् । कारण, उनी यस्तो समयमा ज्योतिष पेशामा आएका थिए कि तत्कालीन समयमा उनको उमेर समूहको जो कोही यो पेशालाई करिअरको रूपमा अगाडि बढाउन खोज्दैन थिए । 

ज्योतिषीको परिचय नै बेग्लै थियो । निधारमा त्रिपुण्ड टिका, गेरु गलबन्दी, रुद्राक्षको माला अनि सेतो वस्त्रधारी ब्राम्हण । लोकले जानेको ज्योतिषीको हुलिया यस्तै हुन्थ्यो । हिन्दु धर्मसँग जोडिएको कर्मकाण्ड गर्ने र चिना हेराउने ज्योतिषीहरू प्राय वृद्ध अवस्थाका हुन्थे । हात हेराउने, चिना हेर्ने, जोखना हेर्ने र भविष्यवाणी गर्ने पेशा युवाहरूको रोजाइमा पर्दैनथ्यो ।

विज्ञानका विद्यार्थी हुन् हरिहर । कलेज पढ्दाताका उनी परिवारका सदस्यहरूको आग्रहमा आफ्नो भविष्य हेर्नका लागि एकजना ज्योतिषीकोमा गए । विज्ञानको अध्ययनसँगै आविष्कारको क्षेत्रमा समेत सानै उमेरमा चर्चा कमाएका हरिहरका लागि ज्योतिषीले गरेको भविष्यवाणी खास लाग्दैन थियो । उनी जो ज्योतिषीकोमा आफ्नो भविष्य हेराउन पुगेका थिए, सायद उनले हरिहरको मनोभावना बुझे । भविष्यवाणीप्रति हरिहरको दिलचस्पी नरहेको चाल पाएपछि ती ज्योतिषीले हरिहरलाई एकपटक ज्योतिषशास्त्र अध्ययन गर्ने चुनौती दिए ।

Prabhu Bank

फरक खालको चुनौती आइलागेपछि हरिहरलाई पनि त्यसको सामना गर्नुपर्छ भन्ने लाग्यो । र, त्यसपछि उनले सुरु गरे ज्योतिषशास्त्रको अध्ययन । जब उनले औपचारिक रूपमा ज्योतिषशास्त्रको अध्ययन सुरु गरे, बल्ल उनले बुझे ज्योतिषशास्त्र त धर्मसँगभन्दा बढी विज्ञानसँगै जोडिएको रहेछ । ब्रम्हाण्डमा रहेका विभिन्न ग्रह, तारा र तिनको अवस्थितिमा फेरबदल हुँदा प्रत्येक व्यक्ति, स्थानसँगै समयमा पर्ने प्रभावको बारेमा जब उनले ज्योतिषशास्त्रको अध्ययनबाट बुझ्न पाए, उनमा यसको रस बस्यो । त्यसपछि उनले निर्णय लिए, विज्ञानको यही विधालाई आफ्नो करिअरको रूपमा अगाडि बढाउँछु ।

harihar31685182502.jpeg

हरिहरले ज्योतिषीको रूपमा आफ्नो करिअर सुुरुवात गरेको अहिले १५ वर्ष बढी भइसक्यो । सानो उमेरमै ज्योतिषी बनेर जब हरिहर एकपछि अर्को चर्चामा आउन थाले, त्यसपछि नै हो नेपालमा एकपछि अर्को युवा ज्योतिषीहरू देखिन थालेको । ‘कुनै युवाले भविष्य नदेख्ने विधालाई मैले आफ्नो करिअरको रूपमा अगाडि बढाउने निर्णय गरेर ठूलो चुनौती बोकेको थिएँ । अहिले आएर पछाडि नियाल्दा मेरो निर्णयप्रति म सन्तुष्ट छु,’ हरिहर भन्छन्, ‘तत्कालीन समयमा मैले एउटा रुल ब्रेक गरेको थिएँ । र, मेरो त्यही आँटले गर्दा अहिले नेपालमा थुप्रै युवाहरूले ज्योतिषीको रूपमा आफ्नो करिअर अगाडि बढाइरहेका छन् ।’

टिनएजमै ज्योतिषीको रूपमा चर्चित बनिसकेका हरिहरले परम्परावादी ज्योतिषीको शैली र आचरणमा पनि नियम भङ्ग नै गरे ।  न उनको पहिरन ज्योतिषीको झैँ लाग्छ न त उनले चिना हेराउने शैली पुरातन ज्योतिषीय शैलीको छ । मन्दिरको आसपास चौतारामा हात हेराउने ज्योतिषीहरूको बिगबिगी भइरहेको बेला हरिहरले भने काठमाडौंमा भव्य कार्यालय स्थापना गरे । काउन्सिलिङ रुम बनाए । व्यवस्थापनका कर्मचारीहरू राखे । आफ्नो फरक क्याबिन बनाए । र, ल्यापटप अगाडि राखेर मानिसहरूको चिनामार्फत भविष्य हेर्न थाले ।

आफ्नो ज्योतिषीय करिअरको सुरुवाती समयमै हरिहरको चर्चा महानायक राजेश हमालको विवाह २ वर्षका लागि रोकिदिएपछि भएको थियो । नेपाली फिल्म क्षेत्रसँग उनको सम्बन्ध त्यतिबेलै गज्जबको बन्यो । विभिन्न सञ्चारमाध्यमले हरिहरको बारेमा लेख्न थाले । उनका एक पछि अर्को भविष्यवाणीहरूको चर्चा हुन थाल्यो ।

करिअरको १५ वर्षको बुझाइमा नेपालको ज्योतिष पेशा   

नेपालमा अहिले करिब २ लाखको हाराहारीमा ज्योतिषी रहेको तथ्यांकले देखाउँछ । ज्योतिषीहरूको संख्या बढेको छ । यसमा युवाहरूको प्रवेश पनि उल्लेख्य भइसकेको छ । अझै हुने क्रम बढिरहेको छ । तर, नेपालको ज्योतिष पेशाले अझै पूर्ण रूपमा नछाडेको कुरा भने धर्म हो । त्यसो त नेपालमा हिन्दु धर्म मान्नेहरूको संख्या बढी छ । त्यही कारण पनि ज्योतिषीहरूले आफूलाई धार्मिक गुरुको रूपमा बढी चिनाउने गर्छन् । यसो गर्दा उनीहरूको धेरै भन्दा धेरै व्यापार पनि हुन्छ ।

harihar41685182501.jpeg

तर, अधिकारीको मत यो मामलामा पनि फरक छ । ज्योतिषशास्त्र कुनै एउटा धर्म विशेषसँग मात्र जोडिएको विषय होइन । यो त समग्र धर्म मान्ने मानिसहरूसँग जोडिएको विषय हो ।

बाइबलमा पनि ज्योतिषशास्त्रको कुरा उल्लेख छ । जिसस क्राइस्टको जन्मको विषयमा धर्मशास्त्र बाइबलमा उनको जन्मभन्दा अगाडि नै भविष्यवाणी भएको उल्लेख छ । एक जना अगमवक्ताले जिसस क्राइस्टको जन्म हुने समय र त्यसको परिवेशको विषयमा हजारौँ वर्ष अगाडि भविष्यवाणी गरेको किस्सा बाइबलमा छ । यतिसम्म कि तत्कालीन समयमा ज्योतिषीहरूले आकाशको तारा र नक्षत्र हेरेर जिसस क्राइस्टको जन्म भएको बारेमा पत्ता लगाएको किस्सा बाइबलमा समेटिएको छ ।

त्यस्तै कुरानमा पनि मोहम्मदको जन्मको विषयमा भविष्यवाणी भएको छ । अल्लाहको दूतको रूपमा पृथ्वीमा मोहम्मदका जन्म हुने कुरा इस्लाम धर्मशास्त्रमा लेखिएको कुरा हो ।

हिन्दु धर्ममा पनि ज्योतिषीय भविष्यवाणी सम्बन्धी अनेकन किस्साहरू भेटिन्छन् ।

धर्मशास्त्रहरूमा लेखिएका यस्ता अनेकन किस्साहरूले ज्योतिषीय भविष्यवाणीको महत्व दर्शाउँछ ।

नेपालको हकमा भने ज्योतिषीहरूले यो पेशालाई हिन्दु धर्मसँग मात्र जोडेर प्रचार गरेको हरिहरलाई मन पर्दैन । ‘यो धर्मभन्दा पनि विज्ञानसँग जोडिएको कुरा हो,’ उनी भन्छन्, ‘त्यसैले एउटा धर्मसँग मात्र जोडेर यो पेशालाई प्रचार गर्नु त्यति उपयुक्त हुँदैन । किनभने संसारका सबै धर्महरूले ज्योतिषशास्त्रलाई मान्छन् ।’

पछिल्लो समय इसाई र इस्लाम धर्मावलम्बीहरू पनि आफूसँग भविष्य देखाउन आउने गरेको उनी बताउँछन् ।

हरिहरलाई नेपालका ज्योतिषीहरूको सबै कुरा मै जान्ने भन्ने शैली चित्त बुझ्दैन । उनलाई लाग्छ, ज्योतिषीहरूमा पनि आ–आफ्नो विशेषता र दख्खलता हुन जरुरी छ । ‘मेडिकल डक्टरहरूको पनि फरक फरक विशेषज्ञता हुन्छ । कुनै एउटा विशिष्ट विषयमा उनीहरूले औपचारिक अध्ययन गरेपछि मात्र त्यसमा उनीहरू पोख्त हुन्छन्,’ हरिहर भन्छन्, ‘तर, नेपालका ज्योतिषीहरूलाई के भ्रम छ भने ब्रम्हाण्डको सबै कुरा म एक्लैलाई थाहा छ । र, मैले भनेकै साँचो हो ।’

हरिहर ज्योतिषीहरूले आफ्नो यो भ्रम छाड्न जरुरी रहेको बताउँछन् । मानिसहरूलाई विभिन्न भ्रम छरेर आफूलाई देवताको रूपमा प्रस्तुत गर्ने ज्योतिषीहरूकै कारण यो व्यवसाय बेलाबखत बदनाम हुने गरेको हरिहरको बुझाइ छ । ‘मेरो आफ्नो कुरा गर्ने हो भने मैले पछिल्लो समय व्यक्तिको स्वास्थ्यसँग जोडिएको भविष्यवाणीतर्फ आफूलाई केन्द्रित गरिराखेको छु,’ उनी भन्छन्, ‘मलाई लाग्छ नेपालका ज्योतिषीहरूको वर्गीकरण उनीहरूको दख्खलता र विशेषज्ञताको आधारमा हुनुपर्छ ।’

अभिनेता हरिहर

ज्योतिषीको रूपमा हहिरको जति चर्चा हुन्छ, त्यति नै अभिनेताको रूपमा पनि हुन्छ । उनले ज्योतिषशास्त्रमा आधारित फिल्म शुभ लभमा अभिनय गरेका थिए । यो उनको अभिनय करिअरको पहिलो फिल्म हो ।

सानैदेखि अभिनेता बन्ने रहर हरिहरमा थियो । त्यसैले उनले आफ्नो ज्योतिष करिअर सुरु गर्दा पनि फिल्म क्षेत्रका मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गरे । एक हिसाबले भन्ने हो भने फिल्म क्षेत्रसँगको उनको सम्बन्धले गर्दा पनि ज्योतिषीको रूपमा उनलाई लाइमलाइटमा आउन सजिलो भयो ।

harihar 21685182501.jpeg

अघिल्लो वर्ष मात्रै हरिहर विवाह बन्धनमा बाँधिए । अभिनेत्री नीता ढुंगानासँग विवाह बन्धनमा बाँधिएका हरिहरले श्रीमतीसँगको सहकार्यमा अहिले अर्को फिल्म निर्माण गरिररहेका छन् । ह्रस्व दीर्घ नाम दिएर निर्माण भइरहेको फिल्ममा उनै हरिहर मुख्य अभिनेता छन् । दक्षिण भारतका चर्चित अभिनेताहरू समेत फिल्ममा उनीसँग सहकार्य गरिरहेका छन् । भारत र नेपालमा छायाङ्कन हुने फिल्म ह्रस्व दीर्घलाई लिएर उनी निकै आशावादी पनि छन् । कारण, यो फिल्म हिन्दी र नेपाली भाषामा एक साथ अल नेपाल र अल इन्डिया रिलिज गर्नेगरी निर्माण कम्पनी नीता फिल्म्सले तयारी गरिरहेको छ । प्रेमगीत ३ पछि भारतका हलहरूमा एकसाथ सार्वजनिक प्रदर्शन हुने नेपाली फिल्म ह्रस्व दीर्घ नै हुनेछ ।

फिल्मको करिब आधाउधी भाग भारतमा छायाङ्कन भइसक्यो । बाँकी रहेका दृश्यहरू नेपालमै छायाङ्कन हुने उनले जानकारी दिए ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:५७
sagarmatha cementsagarmatha cement
Weather Update