
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भने, ‘भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखेलेसम्म हामी विश्राम लिँदैनौँ ।’
शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।
नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नु परेको स्पष्ट पारे । उनले संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत बताए ।