
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विकृति विसंगति र भ्रष्टाचारविरुद्धको लडाइँमा जनयुद्धको समयको जस्तो मानसिकता बनाएर लागेको बताएका छन् ।
उनले अहिले छानबिन भइरहेको शरणार्थी प्रकरणभन्दा ठूलो केस बाहिर ल्याउन लागेको खुलासा पनि गरे ।
शनिबार २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जस्तोसुकै समस्या परेपनि भ्रष्टाचार र बेथितिको विरुद्ध लडाइँ चलाउने जनयुद्धको बेलामा जुन संकल्पबाट हाम फालिएको थियो अहिले विसंगति र भ्रष्टाचाविरुद्धको लडाइँमा म त्यही मानसिकताको साथ अनुभव गर्दै छु ।’
जनयुद्धको लडाइँ सुरु गर्दा जिउने र मर्ने ठेगान नभएको जस्तै मृत्युवरण गरेर हाम फालेको स्मरण गर्दै उनले अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै भएको र अब छिट्टै नै योभन्दा ठूलो केस बाहिर ल्याउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको समयमा हजारौँ मानिसको साथसमर्थन भएजस्तै मलाई विश्वास छ अहिले देखिएको मात्रै हैन तपाईंहरू देख्नुहुनेछ केही समयभित्रै अरू ठुल्ठुला एक्सनहरू हुनेछन् ।’
उनले शहीदहरूको सपना पूरा गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको अर्को विकल्प नभएको पनि बताए ।