
काठमाडौं— त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले निर्वाचन नभएका १७ क्याम्पसका क्याम्पस प्रमुखलाई पत्र लेख्दै यथाशीघ्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
उनका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन उपत्यकाका सात र उपत्यका बाहिरका १० आंगिक क्याम्पसका क्याम्पस प्रमुखलाई निर्देशन दिइएको छ ।
उनले लेखेको पत्रमा भनिएको छ, ‘देशभरिका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत्र ५ गते स्ववियु निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा त्यस क्याम्पसमा के कति कारणले निर्वाचन हुन नसकेको हो ? तत्काल क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी तत्कालन स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरिन्छ ।’
उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस र आयुर्वेद क्याम्पसमा चुनाव भएको छैन ।
उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इञ्जिनीयरिङ क्याम्पस, कृषि क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बाग्लुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पसमा पनि चुनाव रोकिएको छ ।













