
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ गते बुधबारदेखि हुने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ ।
शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नेछन् । उनीहरूबीच हैदरावाद हाउसमा वार्ता हुनेछ । सोही वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन् ।
भ्रमण कार्यतालिकाका अनुसार प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
२० जेठमा काठमाडौं फर्कनुअघि प्रधानमन्त्री दाहालले मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम पनि कार्यतालिकामा उल्लेख छ ।