News Griha :: न्यूजगृह
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना

काठमाडौं— प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन् । 

शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताइन् । 

उनले महिला सांसदहरूका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताइन् । उनले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् । 

उपसभामुख रानाले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । ‘अब महिलाहरूले चुप लागेर बस्ने बेला छैन,’ उनले भनिन् । 

आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसको विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १२:०७
Weather Update