
म्याग्दी— नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिजहर्गोज पदमार्गको आकर्षण बनेको छ ।
अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिसहर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रनकोवानियनम’ र ‘रोडोडेन्ड्रनलोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।
दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिजहर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताए । आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताए। लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ ।
वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गरेका थिए । रोडोडेन्ड्रनकोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् ।
सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेगपोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रमकोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विनकोवानको सम्मानमा राखिएको थियो ।
रोडोडेन्ड्रनकोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताए । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । रोडोडेन्ड्रनकोवानियनमको फूल गुलाबी रङको हुन्छ ।