News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले नेताहरू बालुवाटारमा, सदन अवरोध हटाउनेबारे छलफल 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले नेताहरूलाई बालुवाटार बोलाएका छन्।

सदन अवरोध हटाउनेबारे छलफल गर्न बालुवाटार बोलाइएको हो । 'सदन अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले एमाले नेताहरूलाई बोलाउनुभएको हो,' बालुवाटार स्रोतले भन्यो ।

पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो। एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्ने माग राखेका छन्। यही विषयलाई लिएर एमालेले आज पनि संसद् अवरोध गर्ने तयारी गरेको छ।

सरकार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:५१
Weather Update