
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण, शुक्रबार संसद् अवरुद्ध गर्नुको कारण र भ्रष्टाचारबारे कुरा गरेका छन् ।
एमाले पार्टी मुख्यालयमा शुक्रबारदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए ।
‘एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैं भ्रष्टाचारको विरोधी गर्छ’,उनले भने,‘एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।’
उनले एमालेविरुद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए । ‘संसद्मा बोलेका कुराको पुष्टि हुनुपर्यो । पुष्टि हुने सम्भावना छैन’, उनले भने ।
अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फी घेराबन्दीमा परेको बताए । ‘नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्नँ’, उनले भने,‘तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए । ‘मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ’, उनले भने,‘एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।’
शनिबारसम्म सञ्चालन हुने प्रशिक्षणमा शुक्रबार पहिलो दिन स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पूर्वकार्यकारी निर्देशक विमल पोखरेल, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशिक्षण दिए ।