News Griha :: न्यूजगृह
खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित

खोटाङ— वर्षासँगैको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ ।

बिहीबार साँझ परेको भारी वर्षासँगैको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुई वटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।

हावाहुरीले एउटा आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन तथा अर्को कक्षा ४ र कक्षा ५ पठनपाठन हुँदै आएको भवनको छाना उडाएको प्रधानाध्यापक देवेन्द्र श्रेष्ठले बताए ।

‘दिनभर विद्यालय सञ्चालन गरिएको थियो । साँझ वर्षासँगै आएको हावाहुरीले छाना उडाएपछि आइसिटी कक्षाको कम्प्युटर, डेस्क, बेञ्चलगायतका सामान भिजेको छ’,उनले भने,‘हावाहुरीले विद्यालयको जस्तापाताको छाना उडाएर पाखामा पुर्‍याउँदा ठूलो क्षति भएको छ । हावाहुरीको क्षतिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न सकिने अवस्था छैन ।’

२०२३ साल २ जेठमा स्थापना भएको सो विद्यालयमा गत वर्षको ६ वैशाखमा आएको हावाहुरीले पनि क्षति पुर्‍याएको थियो ।

बिहीबारको हावाहुरीले पुर्‍याएको क्षतिको विवरण संकलन तथा विद्यालय सञ्चालनका लागि उपाय खोज्न गाउँपालिकाको कार्यालय र प्रहरी चौकी बतासेको टोली घटनास्थलमा बोलाइएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १८:०४
Weather Update