
काठमाडौं— राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ ।
शुक्रबार चौधरीलाई आममाफी दिने प्रस्तावलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको हो । राष्ट्रपति कार्यालयबाट पूर्व सांसद चौधरीको सन्दर्भमा गृह मन्त्रालयलाई पठाइएको पत्रमा प्रचलित कानून, अदालतबाट भएको यस सम्बन्धी फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुने गरी कानून बमोजिम गर्न भन्ने उल्लेख रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
रेशम चौधरी संलग्न रहेको अभियोग लागेको टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराको धर्मपत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदन पनि गृहमन्त्रालयमा पठाइएको पनि पोखरेलले बताए ।
सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितको सात जनाको हत्या भएको थियो ।