News Griha :: न्यूजगृह
राष्ट्रपतिलाई पीडितको पत्र : रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियो, आममाफी नदेऊ

काठमाडौं— रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीको परिवारले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा उक्त घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले निवेदन दिएकी हुन् ।

बोहराले पेस गरेको निवेदनमा भनिएको छ, ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कही छैन । पीडामा परी निरीह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ ।’ 

‘तसर्थ तीन तहको अदालतले निरूपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफीमिनाह प्रदान गरी राज्यको सबैभन्दा शक्तिशाली नीति राजनीतिलाई नै अपराधिकरणसँग मितेरी नगाँसियोस् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ (४) को (घ) मा समेत ‘क्रुर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिइ ज्यान मारेको कसुरका कसुरदारलाई भएको सजाय माफी गर्ने, मुलतवी राख्ने, परिवर्तन गर्ने वा कम गर्ने कारबाही गर्न सकिने छैन’ भनी उल्लेख भएको हुदाँ मेरा लागि मात्रै होइन सम्पूर्ण जनता, सुरक्षाकर्मी र राष्ट्रसेवकका लागि न्याय र कानुनका पक्षमा देशका अभिभावक र संविधान संरक्षक सँगसँगै छन् भन्ने अनुभूति गर्न पाऊँ ।’

सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:५७
Weather Update