
काठमाडौं— चीनका राष्ट्रपति सी जिनपिङ यतिबेला रुसमा छन् । समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा सीले दुईदिने राजकीय भ्रमण गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन सीले रुसको भ्रमण गरे पनि उनको चासो भने रुस–युक्रेन युद्धमा देखिन्छ । त्यसैले राष्ट्रपति सी भन्छन्, ‘वार्ताका माध्यमबाट द्वन्द्व अन्त्य हुनुपर्छ ।’
सी र पुटिनबीच वार्ताका क्रममा युक्रेन मुद्दामा दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो । राष्ट्रपति सीले शान्ति र न्यायका निम्ति आवाज उठिरहेको समकक्षी पुटिनलाई अवगत गराए ।
उनले विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताए । राष्ट्रपति सीले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न पुटिनलाई सुझावसमेत दिए ।
अमेरिकी अभिव्यक्ति
अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाव दिनुपर्नेमा जोड दिएको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने पनि बताएका छन् ।
प्रवक्ता किर्बीले भनेका छन्,‘राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ भन्नेमा अमेरिका विश्वस्त छ ।’
जापानी प्रधानमन्त्रीको भ्रमण तयारी
जापानका प्रधानमन्त्री फुमियो किशिदा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको अप्रत्यासित भ्रमण गर्दै छन् ।
उनले रुसको युक्रेनप्रति ऐक्यबद्धता र समर्थन जनाउने अपेक्षा गरिएको छ । जापान र चीनले एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेरे पनि युक्रेनमा रुसी आक्रमण भएदेखि टोकियोले किएभलाई मानवीय, आर्थिक र गैर–घातक सैन्य सहायताको प्रदान गर्दै आएको छ ।













