विद्यालय कर्मचारी जिन्दगीभर सेवा गरी रित्तोहात घर फर्किन बाध्य छन्, सरकारले सुनोस् : सांसद भुसाल

काठमाडौं— सांसद सरिता भुसालले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीले पाएको न्यून सेवासुविधाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भुसालले जिन्दगीभर न्यून सेवासुविधामा विद्यालयमा काम गर्नु परेको र विद्यालयबाट बाहिरिँदा कर्मचारी रित्तोहात हुने अवस्थामा रहेको बताइन् ।
उनले भनिन्,‘सरकारले हरेक वर्ष सार्वजनिक शिक्षा सुधारको वर्ष भनेर कार्यक्रम राख्छ । तर कार्य भने शून्य बराबर छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी न्यून सेवासुविधामा जिन्दगीभर सेवा गरी रित्तोहात घर फर्किन बाध्य छन् ।’
उनले लामो समयदेखि साविक उच्च माविमा कार्यरत शिक्षकहरू अझै पनि करार सेवामा कार्य गर्न बाध्य रहेको बताउँदै उनीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० ०८:४६













