
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तीव्र प्रतीक्षा गरेका छन् ।
५ जेठमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा ‘बालविकास शिक्षक’ भनेर किटान नगरे पनि शिक्षकका समस्या समाधान गरिने छ भनिएको छ ।
तर शिक्षकभित्र बालविकास सहजकर्ता पर्दछन् कि पर्दैनन् त्यसबारे बालशिक्षक अन्योलमा छन् । उता विद्यालय कर्मचारीलाई भने सेवासुविधा दिने भनिएकाे छ ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत ईसीडी शिक्षकले आफूहरूका माग बजेटले समेट्छ कि समेट्दैन पर्खेर बसेका छन् । चासाे राखेका छन् । तर अघिल्लो वर्ष तलबमा दुई हजार रुपैयाँ बढाएको हुँदा यसवर्ष नबढाउने संकेत सरकारले गरिसकेको छ ।
तलब बढाउने मात्र ईसीडी शिक्षकका माग होइनन् । उनीहरूका एकद्वार प्रणालीबाट तलब दिनुपर्ने, प्रावि तह सरह तलबसहित सेवा सुविधा दिनुपर्ने, दरबन्दी प्रक्रियामा लैजानुपर्ने तथा अवकाशमा जान लागेका शिक्षकलाई गोल्डेनह्याण्डसेकको व्यवस्था गर्नुपर्नेलगायतका माग छन् । यी माग पूरा गर्न सरकार तत्काल तत्पर देखिँदैन ।
ईसीडी शिक्षकहरूले आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत आफ्ना माग पूरा गराउन नेपाल शिक्षक महासंघलगायत शिक्षक संघसंगठनसँग सहकार्य गर्नुपर्ने र सरकारलाई दबाब दिन कार्यक्रम सुरु गर्नुपर्छ ।