
काठमाडौं— वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।
बिहीबार जावलाखेलमा विशेष समारोहकाबीच मच्छेन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ । भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छेन्द्रनाथको भोटो अवलोकन गरेका हुन् ।
सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छेन्द्रनाथको दर्शन गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।
मच्छेन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो ।
मच्छेन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व छ ।