
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले अहिलेको अवस्थामा गठबन्धनलाई सम्हालेर लैजाने जिम्मेवारी कांग्रेसको भएको बताउँदै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका हुन् ।
उनले केही दिनभित्रै कांग्रेस सरकारमा जाने भएकाले सरकारलाई राम्रोसँग चलाएर देखाउनुपर्ने धारणा राखे । कोइरालाले अहिले मुलुकमा देखिएको आर्थिक लगायतका समस्याबाट मुक्त गराउन कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन पीडितलाई पनि अन्तर्राष्ट्रिय मान्यताका आधारमा न्याय दिनुपर्ने पनि बताए ।
अन्तर्राष्ट्रिय मान्यता र सर्वोच्चको आदेशलाई ध्यानमा राखेर संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अघि बढाउनु पर्ने कोइरालाको भनाइ छ ।













