News Griha :: न्यूजगृह
१९५० को सन्धि खारेज हुनु-नहुनुको केही अर्थ छैन : एमाले सांसद राई

काठमाडौं— नेकपा एमालेका सांसद रामचन्द्र राईले छिमेकी मूलुक भारतसँग नेपालको सम्बन्ध अवसर भएको तर, नेतृत्वले समस्या बनाएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले भने, ‘भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले । तर, यसलाई समस्या बनाइयो । त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो । मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो । यसलाई अवसरको रूपमा परिणत गराउनको लागि हाम्रो नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्थ्यो हुनुपर्थ्यो भएन ।’

सांसद राईले सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपी नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाए । 

‘१९५० को सन्धिको मूल कपी छैन । जे प्राप्त भएको छ, त्यसको आधिकारिकता कति छ जसको मूल कपी अहिलेसम्म पाएकै छैन । हामीले जे बजारमा पाइरहेका छौँ, जे हाम्रोमा सुन्नमा, देख्नमा, बुझ्नमा आइरहेको छ यसको आधिकारिकता कति ?’ उनले प्रश्न गरे । 

उनले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको नभएको पनि बताए । उनले भने, ‘१९५० को सन्धि खारेज हुनु, नहुनुको केही अर्थ छैन । यसमा लेखिएका बुँदाहरूले देखिन्छ यो खारेज हुनु नहुनुको केही अर्थ छैन । तर, हामी यसैलाई कोकोहोला गरिरहेका छौँ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १५:३८
Weather Update