
काठमाडौं— सहकारीबाट सर्वसाधारणको रकम हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
एमाले गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीले दुई छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
बुधबार एमालेको प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई यो घटनाको निरूपण नहुँदासम्म निलम्बन गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र अन्य सबै सञ्चालकहरूलाई बचतकर्ताको सम्पूर्ण रकम शीघ्र फिर्ता गर्न तथा सरकारी निकायबाट अगाडि बढाइएका छानबिनको प्रक्रियामा सहयोग पुर्याउन हाम्रो पार्टी सम्बद्ध सबैलाई आग्रह गर्दछ ।’
उनीसहित इमेज सहकारीका पदाधिकारी बचतकर्ताको रकम फिर्ता नगरेर हाल फरार रहेका छन् ।