News Griha :: न्यूजगृह
बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताएका छन् । 

बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

उनले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभुति दिन नसकेको बताए । देशमा भ्रष्टाचारको जालो व्यप्त रहेको र कमिसनको जालो नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने उनको भनाइ छ । 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको र देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य नहुने बताए । 

राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि उनको भनाइ छ ।

‘अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ,’ उनले भने, ‘मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन गर्न भनेको छु ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:४८
Weather Update