News Griha :: न्यूजगृह
बिचौलिया दुलाललाई पूर्वगृहसचिव पाण्डेको प्रश्न : मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ? (एसएमएस विवरणसहित)

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया केशव दुलाल र गृहमन्त्रालयका पूर्वगृहसचिव टेकनारायण पाण्डेबीच रकम लेनदेनको विषयमा एसएमएस (सर्ट मेसेज सर्भिस)मार्फत पनि बाक्लो कुराकानी हुने गरेको देखिएको छ । 

सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएसअनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वस्त तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूएनएचसीआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् । 

यसबापत पाण्डेले मन्त्रीको हवाला दिँदै दुलालसँग गिफ्ट(रकम) माग गरेका छन् । र, दुलालले पनि रकम लिएर आएको बताएका छन् । प्रहरीसँगको बयानमा समेत दुलालले पाण्डेलाई मन्त्रालयमा नै गएर एक करोड २४ लाख ५० हजार रुपैयाँ बुझाएको बताएका छन् । 

त्यस्तै, पाण्डेले प्राप्त रकम विभिन्न मितिमा एभेरष्ट र हिमालन बैंकस्थित निजी खातामा लगेर जम्मा गर्ने गरेको देखिन्छ । उनले आफ्ना सुरक्षा गार्ड धर्मराज शाहीमार्फत बैंक जम्मा गराउँथे । यसक्रममा उनले पटकपटक गरेर ८४ लाख ९४ हजार ९८ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट देखिएको छ । 

यस्तो छ, दुलाल र पाण्डेबीच भएको एसएमएस कुराकानी :

१८ अपिल ०२२
केशव– सर पन्थी सरले कस्तो राय दिनभयो ?
टेकनारायण– डिटेल कुरा भो । अब यूएनएचसीआरसँग मिटिङ छ । अनि थप काम हुन्छ । 
केशव– छुट भएको हक कसरी हुन्छ हजुर ?
टेकनारायण– मिलाउँछन् । 
केशव– क्याम्पमा नभएकाको हक ?
टेकनारायण– ठिक छ मिलाउने हो ।
केशव– सर आउट वा क्याम्प रिफ्यूजी क्यान्डिडेटलाई एप्लिकेशन कहाँ दिन लगाउने हजुर ?
टेकनारायण– छलफल हुँदै छ ।

३१ मे ०२२
केशव– प्रमोद शर्मा मन्त्रीसँग नजिक छन् हजुर, टेकनाथ रिजाललाई हाम्रो डिसिजन बिना हुन्न भन्दै थिए रे ।
टेकनारायण– प्रमोद चिन्छु, मन्त्रीज्यूको सामान रेडी भएन ?
केशव– भोलि रेडी हुन्छ जस्तो छ हजुर ।
टेकनारायण– मन्त्री ज्यूलाई म भेट गराउँछु ।
केशव– भोलि फाइनान्सियल एरेन्ज भएपछि हजुरमार्फत भेट्ने हो हजुर ।
टेकनारायण– हस भनी ।

२ जुन ०२२ 
केशव– सर नमस्ते मन्त्री ज्यूसँग कति बजे टाइम भयो हजुर ।
टेकनारायण– मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ?
केशव– ओके, गेटमा हजुर तल भन्दिनु ।
टेकनारायण– मन्त्रालय गेट हो नि ?
केशव– हजुर ।
टेकनारायण– ल भन्या छु गिफ्टमाथि लिएर आउनु । गिफ्ट कहाँ छ सँगै लिएर आउनु । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १३:२७
Weather Update