
काठमाडौं— बागमती प्रदेश सरकारले प्रदेशभर चल्ने आन्तरिक र लामो दुरीको सार्वजनिक सवारीमा भाडादर घटाएको छ ।
बिहीबारबाट लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाइएको बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका उप–सचिव शंकरराज पाठकले जानकारी दिए । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा हाल रहेको भाडा दरमा बिहीबारबाट लागु हुनेगरी ५ं दशमलव ९० प्रतिशतले गाडी भाडा घट्नेछ ।
यस्तै, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र लामो दुरीको यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले गाडी भाडादर घटाउने निर्णय मन्त्रालयले गरेको छ ।
पौडेलले भने, ‘भाडा घटाउने निर्णय अनुसार हिजै कानुन मन्त्रालयमा पठाएका छौँ, आजै राजपत्रमा समायोजन गरिएको कुरा प्रकाशित गर्ने तयारी छ ।’
पेट्रोलियम पदार्थको मूल्य घटेपछि संघीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि बिहीबारबाट लागु हुनेगरी बागमती प्रदेश सरकारले भाडा दर घटाउने निर्णय गरेको हो ।