
काठमाडौं— सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् ।
जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भने,‘३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन् । फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।’
अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ । दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ ।
सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ । जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध २७ करोड रुपैयाँभन्दा बढीको बिगो रहेको छ ।
कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानुनअनुसार गरिनेछ ।