News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीलाई फरक व्यवहार नगर्नुस्, बरू सहयोग गर्नुहोस् : यादव

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले सामुदायिक विद्यालयका कर्मचारीलाई कोही कसैले पनि दुःख नदिन तथा फरक व्यवहार नगर्न अनुरोध गरेका छन् ।

उनले राज्यका तर्फबाट चेपुवामा पर्दै आएका विद्यालय कर्मचारीलाई विद्यालयमा पनि विभेद भएको हुँदा त्यसो नगर्न  बुधबार अनुरोध गरेका हुन् ।

उनले भनेका छन्,‘विद्यालय कर्मचारीलाई दुःख दिने काम नगर्नुस् । विद्यालय कर्मचारीलाई त राज्यले हेँला गर्दै आएको छ तर एउटै विद्यालयमा एकै परिवार सरह आफ्नो जिम्मेवारी पूरा गर्दै आएको एउटा सदस्यलाई तपाईं त कम्तीमा हेँला नगरी दिनुहोस् ।’

यस्तो छ यादवको भनाइ

सबैलाई थाहा छ विद्यालय कर्मचारीको पीडा तर पनि किन नेपाल विद्यालय परिषद् र ने.शि.म.स ले निरन्तर माइतीघरमा आन्दोलन गर्नु परेको छ ?

आन्दोलन मात्र कति गर्नुहुन्छ भनि प्रश्न हामीमाथि नै उठ्ने गर्दछ । कोई कोइ कोइ मात्र देख्छु विद्यालय कर्मचारीको पक्षमा कुरा गरिदिने । पीडा र दुःखमा हामी पनि तपाईंहरु कै साथमा छौँ भनिदिने । कतिले त यो  विद्यालय कर्मचारीहरुको आन्दोलन हो हामी किन सरिक हुने मानसिकता देखाउने गर्छन् ।

एकपटक इतिहास पलटाएर हेर्नूस् । नेपालमा जे जति परिवर्तन भएको छ त्यो सब आन्दोलनको कारण नै हासिल भएको सत्य हो । विद्यालय कर्मचारीले आफ्नो पेशागत हक अधिकार प्राप्तिका निमित्त आन्दोलन गर्दा राज्य पक्ष र विद्यालयका प्रशासन पक्षले किन बाधा अवरोध गर्नुहुन्छ । म नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिअन्तर्गतको आन्दोलन परिचालन समिति सदस्यको नाताले मलाई केही विद्यालय कर्मचारीको गुनासो सुन्नु परेको हुन्छ । उहाँहरुले सुनाउनु हुन्छ कि हाम्रो विद्यालयको प्र.अज्यूले म शिक्षक महासंघ, संघ, संगठन के हो मलाई थाहा छैन । म आन्दोलनमा जाँदा काज पनि मिलाइदिनु हुन्न ।

यस्तो प्रवृत्तिका ०.०००१ प्रतिशत मात्र प्र.ज्यू हुनुहुन्छ । म उहाँहरुलाई अनुरोध गर्न चाहन्छु कि जानीजानी विद्यालय कर्मचारीलाई दुःख दिने काम नगर्नुस् । विद्यालय कर्मचारीलाई त राज्यले हेँला गर्दै आएको छ तर एउटै विद्यालयमा एकै परिवार सरह आफ्नो जिम्मेवारी पूरा गर्दै आएको एउटा सदस्यलाई तपाईं त कम्तीमा हेला नगरी दिनुहोस् । विद्यालय कर्मचारी र शिक्षकमा फरक यति मात्र छ कि विद्यालय कर्मचारी नन टिचिङ् स्टाफ हो ।

विद्यालय कर्मचारी पनि जिवित प्राणी नै हो । अरु मानिस सरहविद्यालय कर्मचारीको पनि घर परिवार हुन्छ । सुःख, दुःख, माया, प्रेम र नेपालको संविधान उल्लेख भएको मौलिक हक पाउने सम्पूर्ण अधिकार हुन्छ । त्यसैले हजुरहरु समक्ष अनुरोध गर्दछु कि सकेसम्म सहयोग गरिदिनुस् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:१२
Weather Update