काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल)ले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
अदालतले रवि विरुद्धको रिट निवेदन दर्ता गर्दै आगामी १७ जेठका लागि पेसी तोकेको छ ।
अमेरिकी नागरिकता त्यागेको निस्सा प्रशासनलाई नबुझाएकोले उनी नेपालको सांसद हुन नसक्ने पौडेलले बताउँदै आएका छन् । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा बुझाएको रेकर्ड आफूहरूसँग नभएको बताएको थियो ।
यसअघि पनि नागरिकता विवाद मुद्दामा रवि लामिछानेको विरुद्धमा अदालतले फैसला गरेको थियो । तत्कालीन समयमा अदालतको निर्णयले रवि लामिछानेको सांसद पद गुम्नुका साथै गृहमन्त्रीको पदसमेत गुमेको थियो । अदालतको सोही निर्णयका कारण लामिछानेले रास्वपाको सभापति पद समेत गुमाएका थिए ।
सांसद पद खारेज भएपछि १० वैशाखमा भएको उपनिर्वाचनमार्फत रवि पुनः सांसद चुनिएका छन् । ‘महान्यायधिवक्ता कार्यालयले नागरिकतासम्बन्धी विवादमा अब मुद्दा नचल्ने भनिसकेको’ भन्दै रविले यसअघि आफूले अमेरिकी नागरिकता त्यागेको निस्सा सम्बन्धित कार्यालयलाई बुझाइसकेको समेत बताएका थिए । रविको भनाइलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने अस्वीकार गरेको छ ।