
काठमाडौं— जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाको भनाइमा दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
मधेस, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।













