
काठमाडौं— काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार तीन सय ७५ सवारीसाधनलाई कारबाही गरिएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी नो पार्किङमा सवारी राखेको कसुरमा ८८ हजार ४ सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् ।
यस्तै बढी भाडा लिने २ हजार १ सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३ सय ४० कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको बताए । ‘ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ’, उनले भने । काठमाडौं उपत्यकाभित्र दैनिक २० लाख सवारीसाधन सडकमा गुड्छन् ।
ती सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट दैनिक १ हजार ७ सय ट्राफिक प्रहरी परिचालित हुन्छन् ।













