
गोरखा— शहीद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ ।
चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको भेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले बताए ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले बजेट विनियोजन गरेर सङ्ग्रहालय निर्माण गरेको हो । ‘स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।’
सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको भेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिने छ । ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ,’ वडाध्यक्ष थापाले भने, ‘आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।’
शहीद लखन गाउँपालिकाको ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा चेपाङ समुदायको मात्र बसोबास छ । ती स्थानमा अन्य जातिको बसोबास नै छैन । सङ्ग्रहालय संरक्षणको जिम्मेवारी स्थानीय तहले चेपाङ समुदायलाई दिएको छ । सङ्ग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने भेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्री लगायत सबैखाले परम्परागत सामग्री राखिने छ ।
सङ्ग्रहालयमा हरेक वर्ष चेपाङ समुदायले वर्षमा एकपटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरी मनाउने तथा समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाइ छ ।
त्यस्तै परम्परागत चेपाङ समुदायको गरगहनाका रूपमा मुगा, हारे मालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि विस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा सङ्ग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीय जगबहादुर चेपाङले बताए । रासस