
काठमाडौं— काठमाडौं उपत्यकाअन्तर्गतका नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा ‘सूर्यविनायक नगरपालिका मोडेल’ लाई अपनाउने भएका छन् ।
उपत्यकाभित्रका नगरप्रमुखहरूको संस्था ‘भ्याली मेयर्स फोरम’ को आइतबार (७ जेठ) बसेको बैठकले ‘सूर्यविनायक नगरपालिका मोडेल’ लाई अपनाउने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाका प्रमुखसमेत रहेका फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सूर्यविनायक नगरपालिकाले प्रअ नियुक्तिसम्बन्धी अपनाएको विधिलाई नै अवलम्बन गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘योग्य र सक्षम व्यक्ति प्रधानाध्यापक हुनुपर्ने हुँदा सूर्यविनायक नगरपालिकाको मोडेल उपयुक्त लागेर सबैले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गर्यौं ।’ सूर्यविनायकले पालिकाभित्रका स्थायी शिक्षकमध्येबाट प्रधानाध्यापक नियुक्ति गर्ने कार्यविधि ल्याएको छ ।
खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गर्ने र आवेदन परेकाहरूबाट विद्यालय विकास प्रस्ताव ग्रहण गर्ने तथा अन्तर्वार्ता पनि लिने विधि कार्यविधिमा छ । यसरी छनोट गरिएका शिक्षकलाई पाँच वर्षका लागि नियुक्ति गर्ने व्यवस्था छ ।













