
काठमाडौं— सरकारको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीका माग समेटिएपछि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र विद्यालय सहयोगी) उत्साहित भएका छन् ।
५ जेठ शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने,‘सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको सेवासुविधाको विषयलाई सम्बोधन गरिनेछ ।’
आफ्ना मागका विषयमा पटक–पटक प्रधानमन्त्री, मन्त्री, सांसद, नेताको ध्यानाकर्षण गराएको विद्यालय कर्मचारी परिषद्ले नीति तथा कार्यक्रमा विद्यालयका कर्मचारीका माग समेटिनु खुसीको कुरा बताएको छ ।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिँदै लेख्छन्,‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूको नेतृत्वमा विद्यालय कर्मचारीका विषयमा नीति तथा कार्यक्रममार्फत विशेष विषय उठान गर्नु भएकोमा सरकारप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।’
उनले विद्यालय कर्मचारीका माग सम्बोधन हुने गरी बजेट व्यवस्था गर्न पनि माग गरेका छन् । सरकारले बजेट निर्माण गरिरहेको छ ।