News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश

काठमाडौं— प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ । अनुसन्धानको ५८ दिनपछि सोमबार दिउँसो १ बजे प्रहरीले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश गरेको हो ।

प्रहरीले घटनामा संलग्न ३२ विरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगी कसूरअन्तर्गत मुद्दा लगाएको छ । घटनामा संलग्न १६ पक्राउ परेका छन् भने बाँकी १६ फरार छन् । सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायधिवक्ता अच्यूतमणी नेउपानेले अनुसन्धान प्रतिवेदन कार्यालयमा पेश भएको बताए । 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन हामी कहाँ पेश भएको छ । अब प्रतिवेदन माथि अध्ययन हुनेछ । र मुद्दा अदालतमा अभियोजन हुनेछ ।’

आइतबारसम्म नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १२ पीडितले उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २७ करोड ४२ लाख ५७ हजार रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ । 

पक्राउ अभियुक्तविरुद्ध मुद्दा चलाउने सन्दर्भमा आइतबार दिनभर काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकृत पटक–पटक बैठक बसेका थिए । बैठकमा अभियुक्तविरुद्ध राज्यविरुद्धको कसूर पनि चलाउनुपर्ने सम्बन्धमा छलफल भएको थियो । यस बिषयमा बैठकमा सहभागी सबै उच्च प्रहरी अधिकृत सहमत भएको प्रहरीको भनाइ छ । 

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । 

त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । 

प्रतीक थापा, नीरज राई, बेचन झा, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन् । प्रहरीले उनीहरूविरुद्ध पनि मुद्दा चलाउने तयारी गरेको छ । 

घटनामा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायत विरुद्ध भने तत्काल मुद्दा नचलाने निष्कर्षमा प्रहरी पुगेका छन् । घटनामा पक्राउ परेका अभियुक्तले उनीहरूविरुद्ध पनि बयान दिएका थिए । तर, ठोेस प्रमाण फेला नपर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन । 

प्रहरीले घटनाको अनुसन्धान ५८ दिन अघिबाट सुरु गरेको थियो । १२ चैतमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि अर्थात १५ चैतमा प्रहरीले अर्का बिचौलिया सागर राईलाई पक्राउ गरेको थियो । २९ चैतमा सन्देश शर्मा पक्राउ परेपछि मात्रै प्रहरी संगठित अपराधमा मुद्दा चलाउने निष्कर्षमा पुगेका थियो । त्यसपछि, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृृष्ण खाण लगायतका हाइप्रोफाइल पक्राउको सिलसिल सुरु भएको थियो । 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:३२
Weather Update