
काठमाडौं— नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पूर्वप्रधानमन्त्रीहरूलाई बयानमा बोलाएर अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सबै मन्त्रीहरूको काम कारबाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने भन्दै सरकारले यस प्रकरणको विषयमा थप अनुसन्धान गर्न आवश्यक भएको बताए ।
‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम कारबाहीको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू पूर्वउपप्रधानमन्त्री प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाइ अनुसन्धान पूर्ण बनाउन जरुरी छैन र ?’ उनले भने, ‘एक पूर्वप्रधानमन्त्रीले चार सय नेपालीलाई १० वर्ष अगाडि नै भुुटानी शरणार्थी बनाइ अमेरिका छिराएको त्यसको प्रमाणसमेत आफूसँग भएको सार्वजनिक रूपमा बताउनु भएको के सरकारलाई थाहा छैन र ?’
उनले पूर्वप्रधानमन्त्रीले आफूसँग प्रमाण भएको जानकारी सार्वजनीक रूपमा दिएको र त्यसको अनुसन्धानमा सरकार लाग्न आवश्यक भएको बताए ।
उनले जापानमा ‘राजवंशी’ कोटा खुल्यो भन्दै चार सयजना भन्दा धेरैसँग तीन करोडभन्दा बढी ठगी गर्ने काममा मन्त्रीहरूकै संलग्नता भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।













