
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा र बाह्रवर्षे जात्रा विश्व सम्पदा सूचीमा राख्न माग गरेकी छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा उनले नीति तथा कार्यक्रमको बुदाँ ६५ देखि ६९ सम्म सांस्कृतिक सम्पदाको संरक्षणको विषय समेटिए पनि कला संस्कृतिको लागि चिनिने ललितपुरको सांस्कृतिक धरोहरमा राज्यको आँखा नपरेको भन्दै सो सम्पदा पुननिमार्णको माग गरिन् ।
‘७२ सालको भूकम्पपछि पुनःनिमार्णको कार्य सकियो भनेर पुनर्निमार्ण प्राधिकरण समेत विघटन भइसक्यो तर, बुङ्मतिको रातो मछिन्द्रनाथ र खोकनाको रुद्रायनि मन्दिर भने ८ वर्षदेखि पुुनर्निमार्ण कुर्दाकुर्दा जीर्ण भइसके, सरकार कै हाम्रो सम्पदा राम्रो सम्पदा र पर्यटन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रम अन्तरगत यो मन्दिरहरूलाई तत्कालै पुन निमार्ण सम्पन्न हुने गरी आगामी वर्षको आर्थिक वर्षमा बजेट विनियोजन गरियोस्,’ उनले भनिन्, ‘र, रातो मछिन्द्रनाथको जात्रा, भोटो देखाउने जात्रा, १२ वर्षे जात्रा विश्व सम्पदा सूचीमा राखियोस् भन्न चाहन्छु ।’













