
काठमाडौं— भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठ महिना भित्रमा सम्पन्न हुने बताएका छन् ।
सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए ।
उनले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु—भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे ।
उनले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताए । यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने उनको प्रतिबद्धता छ । आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको उनले बताए ।
मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तरमन्त्रालय समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने उनको भनाइ छ ।
आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तीव्रता दिने उनले बताए । सरकारले महत्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि रोड एम्बुलेन्सको परिकल्पना गरेको बताए ।













