
गोरखा— उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्ने बताएका छन् ।
गोरखा सदरमुकाममा आइतबार भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र गोरखा जिल्ला समन्वय समितिको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार देशलाई नयाँ ढङ्गबाट अघि बढाउन भ्रष्टाचार र कमिसनको जालो तोड्ने अभियानमा लागेको बताए ।
‘सामाजिक, आर्थिक रुपान्तरणको माध्यमबाट नागरिकको जीवनमा परिवर्तन ल्याउन सामाजिक न्यायसहितको समाज स्थापना गर्नुपर्छ’, उनले भने,‘समृद्धिको गुणात्मक फड्को मार्न सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई कार्य सूचीअनुसार गरेको छ ।’
नक्कली शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए । ‘भ्रष्टाचारी र अपराधीलाई लुक्न, छिप्न दिइँदैन’,उनले भने,‘कोही निर्दोष फस्ने र दोषी उम्कने पनि छैन ।’
उनले सरकारको उद्देश्य सुशासन, समृद्धि र सामाजिक न्यायसहित समाज स्थापना गर्नु रहेको स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार गठन भएदेखि नै शुसासनको पक्षमा जोड दिँदै आएको बताए ।













