
काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ । आयोगले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म दल दर्ता गराइसक्न आग्रह गरेको छ ।
तनहुँ–१ र बारा–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने दलले आयोगमा दर्ता गर्नुपर्ने हुन्छ । यसअघि आयोगले चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिएको थियो ।
आयोगले चितवन–२, बारा–२ र तनहुँ–१ मा २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो ।
बारा–२ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत्र ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए ।
त्यसैगरी तनहुँ–१ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए ।
रिक्त रहेका ३ प्रतिनिधिसभा सदस्य चयनका लागि वैशाख १० मा एकैदिन उपनिर्वाचन गर्न लागिएको हो ।














