काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको अमेरिकी राहदानी त्यागसम्बन्धी निस्सा (प्रमाण) काठमाडौं जिल्ला प्रशासनमा छैन ।
प्रशासनले ३ जेठमा सर्वोच्च अदालतलाई पत्र लेख्दै सभापति लामिछानको राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालयमा नरहेको जवाफ पठाएको हो ।
प्रशासनले जारी गरेको पत्रमा लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा माग भएको तर राहदानी त्यागसम्बन्धी निस्सा उक्त कार्यालयमा नरहेको उल्लेख छ ।
यसअघि अदालतले अध्यागमन विभागसँग लामिछानेको मुद्दाको सवालमा सोही प्रकृतिको निस्सा माग गरेको थियो । १ जेठको विभागको पत्रानुसार सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ ।
सभापति लामिछानेविरुद्ध प्रहरीमा राहदानी दुरुपयोगमा जाहेरी परेको थियो । उक्त जाहेरीमा महान्यायाधिवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णय उल्टाउन माग गर्दै लामिछानेविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए ।















