
काठमाडौं—रास्वपा सांसद सोबिता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राख्न माग गरेकी छन् ।
आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्दै सांसद गौतमले कपिलवस्तुको तिलौराकोट र जनकपुरधामको जानकी मन्दिरसँगै यी दुई मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा राख्न पहल गरिनुपर्ने बताएकी हुन् ।
उनले कृषि, पूर्वाधार, सांस्कृतिक सम्पदा संरक्षण र स्वास्थ्यका क्षेत्रमा नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव हालेकी छन् । नीति तथा कार्यक्रममा राखिएको ‘रैथाने बाली, बीउबिजन, नश्ल र कृषि तथा पशुपक्षी जैविक विविधता संरक्षणमा स्थानीय तह र समुदायलाई प्रोत्साहित गरिनेछ’ भन्ने वाक्यांशको सट्टा ‘स्रोत विनियोजन गरी जिम्मेवार बनाइनुपर्ने छ’ भन्ने वाक्य राखिनुपर्ने सांसद गौतमको भनाइ छ ।