News Griha :: न्यूजगृह
आफूलाई प्रधानाध्यापक नबनाएपछि पठनपाठन ठप्प

दैलेख— आफूलाई प्रधानाध्यापक नबनाएको भन्दै शिक्षकहरूले पठनपाठन बन्द गरेका छन् । महाबु गाउँपालिका–३, बासीमा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक हरिप्रसाद शर्मालगायतका आठ जना शिक्षकले गत ३१ वैशाखदेखि विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयका माध्यमिक तह (राहत) शिक्षक मनबहादुर बुढालाई गत १४ माघमा प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो । सो निर्णयसहितको पत्र गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पठाए पनि पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले निम्न माध्यमिक तहका स्थायी शिक्षकलाई प्रअ बनाई कामकाज गर्न पत्राचार गरेपछि विवाद सिर्जना भएको हो ।

सो विद्यालयका नवनियुक्त प्रधानाध्यापक मनबहादुर बुढाले समितिले विद्यालयमा अनावश्यक राजनीति गरेका कारण समस्या सिर्जना भएको बताए । प्रअ नियुक्तिको माग गर्दै आएका शर्मा भने मावि तहको अस्थायी शिक्षक हुन् ।

उनले विद्यालयको प्रअका लागि उच्च अदालत सुर्खेतमा उजुरी दिएको भए पनि माध्यमिक तहको शिक्षकको व्यवस्था गरी प्रअ नियुक्त गर्नु भन्ने आदेश गरेको तर विद्यालयले निम्न माध्यमिक तहका शिक्षक हरिप्रसाद शर्मालाई नै प्रधानाध्यापक बनाउनु भनेर विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएपछि समस्या भएको बताए ।

उनले आफूलाई प्रअ बनाउनु पर्ने माग राखेर पठनपाठन बन्द गराएका आठ जना शिक्षकमध्ये तीन जना काममा फर्किएको र पाँच जना विद्यालयमा नआएको जानकारी दिए । उनीहरूले विद्यालयको वरिपरि घुम्ने, पालिकामा गएर हाजिर गर्छौं भनेर थर्काउने गरेको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र दहालले विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई चुनौती दिँदै पालिकाले निम्न माध्यमिक तहका शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्नु भनी पत्र लेखेपछि समस्या बढेको बताए । उनले माध्यमिक तहमा स्थायी शिक्षकको दरबन्दी नभएका कारण राहत दरबन्दीमा रहेका शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको दाबी गरे ।

महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवम् गाउँ शिक्षा समितिका अध्यक्ष मन्जुकुमारी शर्मा पाण्डेले प्रअ नियुक्तिमा लामो समयदेखि विवाद भइरहेको र त्यसको समाधानका लागि गाउँपालिकाले छिट्टै निर्णय गर्ने जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति बमोजिम गाउँ शिक्षा समितिले निर्णय गरेर प्रधानाध्यापक तोक्ने पनि उनले बताइन् ।

महाबु गाउँपालिकाभरि दुई वटा मात्र माध्यमिक तहको शिक्षक दरबन्दी रहेको बताउँदै उनले तत्काल माध्यमिक तहको शिक्षक पठाउन नसकिने उल्लेख गरिन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०९:३२
Weather Update